बागमतीमा विपद्को घटनामा परेर ४१ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक २०, सोमबार १६:४७
file-photo

मकवानपुर । बागमती प्रदेशमा मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान लगायत प्राकृतिक र गैर प्राकृतिक घटनामा परेर ४१ जनाको मृत्यु भएको छ ।

प्रदेशमा चालु आर्थिक वर्ष ०८०/०८१ को पछिल्लो ३ महिना (साउन–असोज) को अवधिमा प्राकृतिक र गैर प्राकृतिक विपद्को घटनामा परेर ४१ जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव धुव्र गैडाले सो अवधिमा ७१ विपद्जन्य घटना हुँदा एक सय ६ जना घाइते र १२ जना बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार, प्रदेशको १३ जिल्लामा गत साउन महिनामा ३९ विपद्को घटना भएको थियो । जसमा प्राकृतिक विपदमा परेर ६ जना र गैर प्राकृतिक विपदमा परेर ११ जनाको मृत्यु भएको थियो । उक्त घटनाहरुमा परेर ११ जना बेपत्ता भएका छन् ।

यस्तै, भदौं महिनामा २२ विपद्जन्य घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने ६३ जना घाइते भएका थिए । सो महिनामा प्राकृतिक विपद्का घटनामा परेर ४ जना र गैर प्राकृतिक विपद्का घटनामा १५ जनाको मृत्यु भएको थियो ।

यसैगरी, गत असोज महिनामा १० वटा विपद्जन्य घटना हुँदा ५ जनाको मृत्यु र ७ जना घाइते भएको मन्त्रालयका सचिव गैडाले बताए । उनका अनुसार, सो महिनामा विपद्जन्य १० घटनामध्ये पहिरोमा परी २ जना, आगलागीमा एक जना र जल दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।