मकवानपुरमा विभिन्न घटनामा परेर चार जनाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार १७:१३
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा दसैंको समयमा विभिन्न घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्लामा सो अवधिमा भएका विभिन्न घटनामा परेर चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सो अवधिमा जिल्लामा सवारी दुर्घटनामा परेर तीन जना र भिरबाट लगेर एक जना गरी चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ बेसारघारीमा कात्तिक १२ गते आइतबार भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेश बहादुर स्याङ्तान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको घर नजिकै घाँस काट्न जाँदा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै, जिल्लामा गत कात्तिक ८ गते बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएका थियो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२७, महाबौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्री रहेका छन् ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०२–०२७ प ४८४२ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा सोही दिन हेटौंडा अस्पतालमा मृत्यु भएको थियो । स्कुटर चालक थापाका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, गत कात्तिक ९ गते बिहीबार पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा चुरियामाइतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा क्रेनका सहचालक विरगञ्ज महानगरपालिका–३०, विश्रामपुर बस्ने १८ वर्षीय विपिन महतो रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते महतोको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेर क्रेनका चालक लालपर्सा बस्ने ३० वर्षीय दशरथ पासवान सामान्य घाइते भएका थिए ।

त्यस्तै, गत कात्तिक १० गते त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा भीमफेदी गाउँपालिका–६ का ३४ वर्षीय सुमिन लामाको मृतयु भएको थियो ।

भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक सुमिन मोटरसाइकलका सहचालक हुन् । सोही दुर्घटनामा परेर मोटरसाइकल पछाडी बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । घाइते बस्नेतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, गत कात्तिक ८ गते बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७, लामिटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बागमती गाउँपालिका–६, ठाडोखोलाका २२ वर्षीय सन्तोष दर्लामी रहेका छन् ।

बागमती गाउँपालिकाको झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका सन्तोषको उपचारको क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा शुक्रबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागमती गाउँपालिका–६, ठाडीखोलाका २२ वर्षीय प्रदीप लोप्चन भने सामान्य घाइते भएका थिए ।