मकवानपुरमा थप ७ जनामा डेंगु पुष्टि, कुल संख्या ६७५ पुग्यो

तु खबर संवाददाता
२०८० कार्तिक १२, आईतवार १६:०८
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको परीक्षणमा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिकाका ६ जना र बकैया गाउँपालिकाका एक जनामा गरी ७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ६७५ पुगेको छ । उक्त तथ्याङ्क गत साउन १ गतेदेखि आजसम्मको हो ।

जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४५८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १८ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६४ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३४ जना, बकैया गाउँपालिकाका २० जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा जिल्लाको कैलाश गाउँपालिकामा भने एक जनामा पनि डेंगुु संक्रमित बिरामी फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।