मकवानपुरमा डेंगू संक्रमितको संख्या ६५० पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६५० पुगेको छ ।
जिल्लामा बिहीबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६५० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १३ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४४० जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६४ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३३ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।
