हेटौंडा उपमहानगरपालिकाले २ वटा वडामा अस्पताल संचालन गर्दै

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार १६:२०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले २ वटा वडामा नगर अस्पताल संचालन गर्ने भएको छ ।

नगरपालिकाले हेटौंडा–१३ र १६ नम्बर वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित जनशक्ति थप गरेर नगर अस्पतालको रुपमा संचालन गर्ने भएको हो ।

२०७९ सालमै नगरकार्यपालिकाबाट निर्णय गरेर उपमहानगरपालिकाले ती स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्ने काम थालेको हो । गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल संचालनको सोच बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

सुरुवाती चरणमा अस्पताललाई ५/५ शय्या क्षमतामा संचालन गरी आवश्यकताका आधारमा शय्या थप गर्ने र स्तरोन्नतिको काम गर्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसका लागि फर्निचर, प्रयोगशालाका सामग्री लगायत व्यवस्थापनका काम गरिरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार अस्पतालका लागि हाल जनशक्ति माग गरिएको छ ।