जी.एस. निकेतनमा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार ०९:१८

मकवानपुर । नेपालीहरूको महान पर्व बडादशैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन माविले प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद लामिछानेको अध्यक्षता एवम् विद्यालयको संचालक संस्था ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

गायन, नृत्य, देउसी–भैलो, नाटक तथा उद्घोषण प्रतियोगिताका रूपमा सम्पन्न गर्दै गरेको दुई दिवसीय कार्यक्रमको बुधबार पहिलो दिन नर्सरीदेखि कक्षा–५ सम्मका विद्यार्थीले सहभागीता जनाएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, सदस्य जनकराज पन्त, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष प्रकाश बानियाँ, लेखा समिति संयोजक गौतम केसी लगायतको विशिष्ट आतिथ्यता थियो ।

उक्त तहका लागि किताघर, हेटौंडाबाट पुस्तक बिक्री कक्षसमेत सञ्चालन गरिएको थियो ।

किताब घरद्वारा आयोजित किताब बिक्री कक्षमा समेत विद्यार्थी र अभिभावकको राम्रो भिडभाड रहेको र दोस्रो दिनको कार्यक्रममा समेत पुस्तक बिक्री यथावत् रहने विद्यालयका सहायक प्रिन्सिपल दीपक गौतमले जानकारी दिए ।

यस्तै, आज दोस्रो दिनको कार्यक्रममा कक्षा–६ देखि १० सम्मका विद्यार्थीको गायन, सामूहिक लोकनृत्य, देउसीभैलो, नाटक तथा उद्घोषण प्रतियोगिता रहेकोसमेत गौतमले बताए ।