अवैध लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, सुनसरी र बर्दिया गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले से.५ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सुनसरीको दुहबी नगरपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन २० ग्राम २ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसा पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका–५ बस्ने २९ वर्षीय श्याम कुमार साह र सोही नगरपालिका–३ बस्ने २८ वर्षीय मनिष खुलाल रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको संयुक्त टोलीले को.११ प २८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१६ जुनेली पथ डेरा गरी बस्ने २२ वर्षीय शेरबहादुर सुनुवार र सोही ठाउँ पुरानो बजार बस्ने ३३ वर्षीय सुसन श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ हजार १ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ४ सय क्याप्सुलसहित शनिबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, बर्दियाको गुलरीया नगरपालिका–११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका–८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका–१० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी बर्दियाको मधुबन नगरपालिका–२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
ती सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
