अवैध लागूऔषधसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २२, सोमबार १८:४५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, उदयपुर, सुनसरी र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर खैरोहिरोइनसहित १ ग्राम २३० मिलिग्रामसहित प्रहरीले बिर्तामोड नगरपालिका–३ बस्ने १९ वर्षीय अनुज राजबंशीलाई आइतबार दिउँसो पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको मे.१० प २७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनुजलाई अण्डरवयेरभित्र लुकाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीडाँडा निस्कने गोरेटो बाटोबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ५ सय मिलिग्रामसहित इलाम, इलाम नगरपालिका–९ गोलबस्ती बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मलद्वारको लुकाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपैउत पिप्राई–३ बस्ने २५ वर्षीय रञ्जित मुखिया र भारत बैजानपुर–४ बस्ने १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ क्षितिज चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्मो २ सय ट्याबलेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय विज्ञान राईलाई आइतबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले कास्कीको धादिङ गजुरी गाउँपालिका–३ बस्ने २२ वर्षीय रबिन्द्र तामाङलाई करिब ४ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पोखरा उपत्यकाभित्र चल्ने ग.१ ख ९८७८ नम्बरको नगर बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा सोही बस पार्किङ गरी राख्ने क्रममा बसमा शंकास्पद कालो रङको झोला रहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उक्त झोला खोली हेर्दा करिब ५ केजी गाँजा फेला पारी बरामद गरेको छ ।

ती सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।