मकवानपुरबाट नगद ८ लाख रुपैयाँ र लागुऔषधसहित ५ जना पक्राउ
मकवानपुर । प्रहरीले शनिबार मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद ८ लाख रुपैयाँ र लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय राम बहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जितबहादुर चापागाइईँ रहेका छन् ।
उनीहरुलाई विशेष सुचनाको आधारमा प्रहरीले गस्तीले पक्राउ गरेको रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागुऔषध फेला पारेको थियो ।
मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद बरामद गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
