गोली लागेर घाइते असईकी श्रीमतीको मृत्यु
काठमाडौं । गोली लागेर गम्भीर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ ।
मृतक शर्मिला ९ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् ।
असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका गरिएको भएपनि पुष्टि भएको छैन ।
उक्त घटनाको बारेमा प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
