अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सर्लाही र कञ्चनपुर गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम २८० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिनपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र २१ वर्षीय कुलदिप सिंह रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले युपि ३१ बीवाई ४९२४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रूपमा बसिरहेको अवस्थामा दुवै जनालाई तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिका–१० तिघरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित बर्दगोरिया गाउँपालिका–२ बस्ने २६ वर्षीय सुनिल कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ ।
यस्तै, प्रहरीले सर्लाहीको कौडेना गाउँपालिका–१ बस्ने ५० वर्षीय बिहारी राउतलाई अवैध लागूऔषध गाँजा २ केजी ३०० ग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको अधारमा प्रहरी चौकी सुन्दरपुर र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा पेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, प्रहरीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्पबाट अवैध लागूऔषध खैरो हेरोईन ४ ग्राम ३ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने २७ वर्षीय राजु चौधरी र सोही नगरपालिका–१९ बागफाटा बस्ने २० वर्षीय अमित चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
