रक्त चन्दनको काठसहित ८ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट अवैध रक्त चन्दनको काठसहित प्रहरीले आइतबार बिहान ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवराज नगरपालिका–३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका–७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामीलगायत रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना.५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम र लु.२ च १६३९ नम्बरको पिकअपमा उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुमा बुझाइएको जनाएको छ ।
