मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट मंगलबार चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालिका खोल्साबाट दुई जना र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले हेटौंडा–१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका–१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजीसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
