रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बोलाएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको उनले बताए ।
कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेका थिए । गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको चौतर्फी आलोचना भएको थियो ।
