दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको बिश्रामपुर नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं नार्गाजुन नगरपालिका–६ पानीट्याङकीबाट पक्राउ गरेको हो ।
सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।
