अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, कपिलवस्तु र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स–डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित बुधबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सर्लाही कोडैना गाउँपालिका–६ बस्ने २० वर्षीय सुनिल कुमार यादवसहित ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ वभनीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित सोही नगरपालिका–९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउलाई बुधबार साँझ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले कैलालीको टिकापुर नगरपालिका–९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन ४ ग्राम १ सय ७० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका– २ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टालाई बुधबार साँझ पक्राउ गरेको छ । प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
