बाइडेनको सम्बोधन : युक्रेन र जलवायु परिवर्तनबारे विश्वसँग खोजेको ऐक्यवद्धता

गिरिजा अधिकारी
२०८० आश्विन ३, बुधबार ०२:०४
तस्बिर : गिरिजा अधिकारी । न्यूयोर्क

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा आज सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनका क्रममा मूलतः दुई विषयलाई निकै जोड दिएका छन् ।

पहिलो – विश्वले झेलिरहेको जलवायु परिवर्तनको असर र दोस्रो – रसिया र युक्रेनबीच भइरहेको युद्ध ।

यी दुबै विषयमा बाइडेनलले महासभामा निकै महत्वपूर्ण धारणा राखे । उनले पहिलो विषय जो जलवायु परिवर्तन र त्यसले विश्व समुदायमा पुर्याएको असरबारे थियो । जलवायु परिवर्तन अहिले विश्वका लागि निकै चिन्ताको विषय भएको छ । मूलतः यसका असरहरुका कारण विश्व समुदायले भोगिरहेका समस्याहरु बाइडेनका मुख्य चिन्ताको विषय थियो ।

आफ्नो सम्बोधनका क्रममा बाइडेनले अमेरिका र चीनमा कीर्तिमानी गर्मी, उत्तरी अमेरिका र दक्षिणी युरोपमा विनाशकारी जंगली डढेलो, अफ्रिकाको हर्नमा खडेरीको पाँचौं वर्ष र लिबियामा दुखद बाढीलाई उद्धृत गर्दै चलिरहेको जलवायु संकटको जीवन्त चित्र प्रस्तुत गरे । यी घटनाहरूले जीवाश्म ईन्धन निर्भरता कम गर्न विश्वव्यापी रुपमा तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उनले जोड दिए ।

राष्ट्रपति बाइडेनले जलवायु संकटको सामना गर्न संयुक्त राज्य अमेरिकाको समर्पणलाई हाइलाइट गर्नुका साथै बाइडेन प्रशासनले यसलाई पहिलो दिनदेखि नै मानवताको लागि अस्तित्वको खतराको रूपमा व्यवहार गरेकोमा जोड दिए।

त्यसैगरी बाइडेनले रसिया र युक्रेनबीच भइरहेको युद्धका सन्दर्भमा पनि आफ्ना भनाइलाई बलियोसँग राखे । आफ्नो सम्बोधनमा अधिकांश समय उनले रसिया युक्रेन युद्धका सन्दर्भमा बोले । बाइडेनले रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरे । उनले विश्व समाज थाकेर युक्रेनमा क्रुरता गर्न अनुमति नदिने भन्दै आक्रमणकारीलाई खुसी पार्न संयुक्त राष्ट्रसंघको बडापत्रका मूल सिद्धान्तहरु त्याग्न नसक्ने बताए । युक्रेनलाई तहसनहस गर्न अनुमति दिँदा कुनै पनि सदस्य राष्ट्र सुरक्षित छन् भनेर विश्वस्त हुन नसक्ने बाइडेनको तर्क थियो ।

भोलिका अन्य आक्रमणकारीहरूलाई रोक्नको लागि हामीले आज यो नग्न आक्रमणको सामना गर्नुपर्छ,  बाइडेनले भने ।

राष्ट्रपति बाइडेनले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताको समर्थनमा विश्वभर आफ्ना सहयोगी र साझेदारहरुको साथमा उभिने अमेरिकाको प्रतिवद्धतालाई उनले दोहोर्याए । रुस जवाफदेही हुनुपर्ने र भविश्यमा हुने आक्रामक कार्यलाई रोक्ने महत्वलाई जोड दिंदै आक्रमणको विरोधमा एकजुट हुन विश्वलाई बाइडेनले आह्वान गरे ।

त्यसैले अमेरिका हाम्रा सहयोगी र विश्वभरका साझेदारहरूसँग मिलेर युक्रेनका बहादुर जनताको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता र उनीहरूको स्वतन्त्रताको रक्षा गर्दै उभिन जारी राख्नेछ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा बाइडेनले मूलभूत रुपमा उठाएका यी दुई विषयहरुमा उनको दह्रो प्रतिवद्धता प्रस्तुत भएको पाइन्छ । रसियाले युक्रेनमाथि गरेको लगातारको आक्रमण युक्रेनको सार्वभौमसत्तामाथिको आक्रमण हो भन्दै उनले यसको विरोध जनाए भने जलवायु परिवर्तनका असरबाट जुध्न उनको प्रशासनले यसलाई सुरुवातदेखि मानवताको लागि अस्थित्वको खताराको रुपमा व्यक्त गरे ।