दर्जीलाई प्रदेश सभाको सचिवमा सरुवा गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०८० भाद्र २७, बुधबार १७:२०

मकवानपुर । बागमती प्रदेश सरकारले ११ औं तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई प्रदेश सभा सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती ऐन लागू भएपछि ११ औं तहमा बढुवा भएका सचिवहरु मध्येबाट दर्जीलाई बागमती प्रदेश सभा सचिवको रुपमा सरुवा गर्ने निर्णय भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बैठकले केन्द्र सरकारले नेपालको संविधानको अनुसूचि ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेख भएता पनि प्रदेशको एकल अधिकारमा संकुचन आउने गरी संघीय संसद्बाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थपन प्राधिकरण ऐन २०७९ पारित भएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।