अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, भक्तपुर, मोरङ, पर्सा, बारा र कैलाली गरी ६ छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बु समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति पक्राउ गरेको छ । लिम्बुको कोठाभित्र अवैध लागूऔषध लुकाई राखेको भन्ने सूचानको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, रूपन्देहीको देवदह नगरपालिका–१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशिल पुनलाई अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ७ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, मोरङको रंगेली नगरपालिका–४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-८ शुक्रबारे बस्ने १९ वर्षीय पर्वत लिम्बु र बेलबारी नगरपालिका–८ बस्ने २६ वर्षीय सन्दिप कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१–०२–०४१ प ४८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
