वडाध्यक्ष रिजालको निधन, पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदै

तु खबर संवाददाता
२०८० भाद्र २१, बिहीबार १२:३८

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस क्षेत्र नम्बर– ७ का सभापति मुकुन्द रिजालको निधन भएको छ । उनको निधन निमोनियाबाट भएको ग्राण्डी अस्पतालले जनाएको छ ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज विहान ७ः३० बजे निधन भएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् ।

भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।

रिजालको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्नको लागि राष्ट्रिय सभा गृहमा राखिएको छ । सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्य व्यक्तिहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।