एमाले लुम्बिनी अधिवेशन : मतदान सकियो, ९६५ मत खस्यो
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदान सकिएको हो ।
मतदानमा दिउँसो १ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नेहरुले मात्रै मत हाल्न पाउने व्यवस्था गरिएको थियो । जसअनुसार, ९६५ मत खसेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानका लागि एक हजार ४ जना प्रतिनिधिको नामावली प्रकाशित गरिएको थियो । तर, ३९ जना मतदानमा अनुपस्थित रहेका थिए ।
अब केहीबेरमा सुरू हुने मतदानको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने मुख्यनिर्वाचन अधिकृत भण्डारीले बताए । प्रदेश अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ पनि मतदान भएको हो ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा उम्मेदवार छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जना उम्मेदवार छन् ।
उपसचिव खुलामा रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसीबीच चुनाब भएको छ । महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगर उम्मेदवार छन् । लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी उम्मेदवार छन् ।
यस्ते, सचिवमा लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
