अवैध लागूऔषधसहित १४ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १९, मंगलवार १५:५६

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, भक्तपुर, मोरङ, पर्सा, बारा र कैलाली गरी ६ छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पाँचथर फालेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१४ डेरा गरी बस्ने ३५ वर्षीय जंगबहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु १ थानसहित आइतबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमतिलाई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका–१ दुधपाटी बस्ने ४९ वर्षीय शिद्धि राम सिल्पकारलाई अवैध लागूऔषध खैरो हेरोईन २१ ग्राम १० मिलिग्राम र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका–३ मङगलबारेबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ सय ९० मिलिग्रामसहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका–१९ तरहरा घर भएका २४ वर्षीय जीवन विश्वकर्मा, मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४० वर्षीय सन्जय सहनी, २९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय राम कुमार सहनी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जीवनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी खरिद बिक्रीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, पर्साको वीरगंज महानगरापलिका–१५ नेशनल मेडिकल कलेज पछाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४० मिलिग्राम र सेतो हेरोईन २४० ग्रामसहित सोही महानगरपालिका–१५ ब्रम्हचोक डेरा गरी बस्ने बारा कोल्बी नगरपालिका–५ घर भएका २५ वर्षीय तिर्थ नारायण चौधरी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले प्रदेश–०२–०२१ प ९७९५ र प्रदेश २–०३–०११ प ४९८९ नम्बरका मोटरसाइकल रोकी बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित बगिर खोला नजिकैबाट अवैध लागूऔषध गाँजा ८ किलो ४६८ ग्रामसहित सोही उपमहानगरपालिका–२२ नयाँ बस्ती बस्ने २८ वर्षीया अन्जली थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले स्कुटर चालक थिङलाई ना.३३ प ५७४८ नम्बरको स्कुटरमा बोरामा राखी उक्त गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलीयास्थित सडकबाट अवैध लागूऔषध चरेस १ केजी ३ सय ग्रामसहित सोही नगरपालिका–१० बस्ने ४८ वर्षीय नर बहादुर घिमिरे समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।