पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १७, आईतवार १७:४०
सांकेतिक तस्बिर

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान मल्लरानी ४ खलंगा घर भई काठमाडौँको सामाखुशी बस्ने नवराज खड्का रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुशीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, खड्काले अर्का युवक सन्दीप परियारलाई पोर्चुगल पठाइदिने प्रलोभनमा ३ लाख रुपैयाँ ठगी गरेका थिए । खड्काले परियारलाई पोर्चुगल पठाउन १५ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख ५० हजार कमाई हुने प्रलोभन देखाएको अनुसन्धानबाट खुल्न आएको छ ।

खड्काविरुद्ध ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागले उनलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाइ पत्राचार गरेको थियो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाउन वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।