सर्वोच्चद्वारा पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेका हुन् ।
भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई सन् २०१९ को अक्टोबर ७ तारेखदेखि पक्राउ गरी थुनामा राखेको थियो ।
भिसा नियमित नगरी आठ सय २३ दिन नेपाल बसेको उल्लेख गर्दै अध्यागमन विभागले रु सात लाख ८१ हजार तीन सय ८९ दशमलव १२ भिसा र विलम्ब शुल्क रु ५० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।
उक्त रकम बुझाउन नसकेपछि पाकिस्तानी नागरिक हईलाई सात वर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो ।
आफूलाई थुनामुक्त गरी आफ्नो देश फिर्ता गर्न माग गर्दै हईले सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरेका थिए ।
