सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने

काठमाडौं । सरकारले यस वर्ष संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार, असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय गरिएको छ ।
असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन् ।
मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने बताए ।