एमालेका २२ नेता दुई हप्ताको लागि चीन भ्रमणमा जाने

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १६:४०
file-photo

काठमाडौं । नेकपा एमालेका २२ नेता दुई हप्ता (१२ दिन) को लागि चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्न लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली शनिबार राती त्यसतर्फ प्रस्थान गर्नेछ । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने एमालेको प्रभाव विभागले जनाएको छ ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ ।

भ्रमण टोलीमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य÷प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य/कोशी प्रदेश सभा सदस्य रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्य सहदेव बोगटी, निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य एवम् पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङ रहेका छन् ।

यसैगरी, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य मानवीर राई, केन्द्रीय सदस्य कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभागका सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य एवम् घोराही उपमहानगरपालिकाका उपमेयर हुमाकुमारी डीसी, सचिवालयका राजेश राई र सरोजकुमार रेग्मी भ्रमणका लागि चीन जाने भएका हुन् ।