बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही भदौं १८ गते अपराह्न साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, उक्त बैठकमा हुने सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले सोही दिन विहान साढे ११ बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक पनि आह्वान गरेको छ ।
प्रदेश सभा बैठकमा सहभागि हुन प्रदेश सभाका सबै सांसदहरुलाई सूचना पठाइसकेको सचिव खड्काले बताए ।
प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो । उक्त बैठकबाट दुई वटा विभिन्न विधेयक पारित गरी प्रदेश सभा अनिश्चितकालको लागि स्थगित गरिएको थियो ।
बागमती प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीलाई प्रतिनिधित्व गर्ने ११० जना सांसद रहेका छन् ।
