अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १२, मंगलवार ०८:४२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, बर्दिया र धादिङबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित चितवन ईच्छाकामना गाउँपालिका–५ बस्ने ३० वर्षीय तिलक गुरुङलाई सोमबार बिहान पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका–४ बस्ने २२ वर्षीय धिरेन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, धादिङको गजुरी गाउँपालिका–६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित गजुरी गाउँपालिका–८ चैनपुर बस्ने ५६ वर्षीया सिता देबी अधिकारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी, धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट अवैध लागूऔषध गाँजा १९ किलोग्रामसहित गोरखा भिमसेन थापा गाउँपालिका–३ घ्याम्पेसाल बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले बा.५४ प ६९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।