अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १०, आईतवार १५:५७
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा, कैलाली र महोत्तरीबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका–६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डे रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कैलालीको टिकापुर नगरपालिका–१ खडकचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ६ सय ७० मिलीग्रामसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडा बस्ने २५ वर्षीय योगेश बहादुर स्वारलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले टिकापुरबाट लम्कीतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमारास्थित झुलुङगे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका–१० बस्ने २८ वर्षीय सुरेन्द्र राय यादब र ३८ वर्षीय अमर सिंह लोप्चन रहेका छन् । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तीन सवै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।