अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत र झापाबाट एक÷एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ७ सय ७० मिलिग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरोबाट समेत खटिएको संयुक्त टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १३ मिलिग्रामसहित सोही नगरपालिका–६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेललाई शुक्रबार बेलुकी पक्राउ गरेको छ ।
प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे.६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती दुवै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
