ठगी गरेको आरोपमा २ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार १८:१९
file-photo

काठमाडौं । आइफोन पुरस्कार जितेको भन्दै रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन देखाएको र भन्सार शुल्कवापत रकम पठाउनुपर्ने भन्दै बैंकमा पैसा हाल्न लगाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका–८ का ३० वर्षका राजकुमार पण्डित र रौतहटको कटहरिया नगरपालिका– १ का उमेशकुमार यादव रहेका छन् । उनलाई प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरुले जमजम इलेक्ट्रोनिक्सले लक्की ड्र गर्दा आइफोन जितेको भन्दै एक महिलालाई भन्सार बापतको रकम पठाउनुपर्ने भन्दै आफ्नो बैंकखातामा रकम हाल्न लगाएका थिए ।

प्रहरीले उनलाई भदौ ४ गते ब्यूरोबाट खटिएको टोलीले कुपण्डोलको गुसिंगालबाट पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

साथै प्रहरीले उनको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ नगद, ७ थान मोवाइल, १८३ थान सिमकार्ड र एउटा राउटर पनि बरामद गरेको छ ।