अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, सुनसरी र कञ्चनपुर गरीतीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको मेचिनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ३ ग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ बस्ने २२ वर्षीय अजय राजवंशी र सोही नगरपालिका–१२ बस्ने २२ वर्षीय समिर धिमाल रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सुनसरीमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ एम्पुल र डिकोलिक १ सय ९२ एम्पुलसहित धरान उपमहानगरपालिका–१० बस्ने १९ वर्षीया श्रदा क्षेत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय किशोर र १७ वर्षीय किशोरलाई बुधबार पक्राउ गरेको छ ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीले धरान भोटेपुलमा होटल संचालन गरी बस्ने झापा, झापा गाउँपालिका–६ घर भएका ६४ वर्षीय दिल बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिवन १ सय ट्याब्लेटसहित पक्राउ गरेको छ ।
त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ३० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका–४ खुरखुरिया बस्ने २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका–७ देवहरिया बस्ने २३ वर्षीय रेशम राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००८ प ४०२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवर उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका–१० पशुपति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८३ मिलिग्रामसहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका–६ घर भएका २३ वर्षीय प्रकाश नेपालीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ती सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
