भरतपुरमा चिडियाखाना निर्माण गरिने

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार १४:०२

काठमाडौँ । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो ।

उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो । भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाईदिन आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैँडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताइन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतको टोलीसँग दाहालले बुधबार स्थलगत अध्ययन र छलफल गरी देवनगरमा चिडियाखाना बनाउने विषयको छलफल भएको बताइन् । उनले भनिन् “पूर्वाधार निर्माण भइरहेको रहेछ, थप पूर्वाधारका लागि महानगरले आवश्यक सहयोग गर्न तयार छ ।” उनले थपिन्“भ्रमण वर्षसँगै महानगरमा बाघ, गैँडासहितका वन्यजन्तु देख्ने गरी चिडियाखाना सञ्चालनमा आउँछ ।”

चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको जनाउँदै उनले भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाउने बताइन् । यसलाई खुल्ला चिडियाखानाका रुपमा क्रमशः विकास गर्नेगरी योजना बनाइएको छ । सो ठाउँलाई घाइते वन्यजन्तु राख्नका लागि विकास गरिँदै छ । घाइतेसँग त्यहाँ हिंस्रक वन्यजन्तुसमेत राख्ने योजना निकुञ्जको थियो ।

प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सो ठाउँमा कम्पाउण्ड वालको केही काम भइसकेको छ । प्राविधिक कर्मचारी बस्ने आवास बनिसकेको छ । चित्तल, मृग जस्ता जनावर राख्ने ठाउँ बनाइएको छ । हात्तीका लागि तीन वटा सेड निर्माण भएका छन् । रासस