भरतपुरको मेयरमा गठबन्धनका दुवै उम्मेदवार विजयी, औपचारिक घोषणा हुन बाँकी
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा गठबन्धनका उम्मेदवार रेनु दाहाल र चित्रसेन अधिकारी विजयी भएका छन् । यद्यपी औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । उनीहरुले प्राप्त गरेको मत र प्रतिस्पर्धीको मतान्तरभन्दा निकै कम मात्रै मत गणना गर्न बाँकी रहेकोले उनीहरुको जित सुनिश्चित भएको हो ।
विहानसम्मको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ ।
अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् ।
भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२७ मत पाएका छन् ।
यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् । भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् ।
