भरतपुर महानगरपालिकामा मतगणना सुरु

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १२:२०

भरतपुर । भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । महानगरपालिका–१० को चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना सुरु गरिएको हो । भरतपुर १ को मतगणना बाट सुरु गरिएको छ ।

एक घण्टामा पाँच सय मत गणना गर्नेगरी जनशक्तिको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय चितवनले जनाएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रतिनिधिहरू थोरै राख्ने र उनीहरूलाई कुर्सीमा नराख्ने सर्वदलीय छलफलमा सहमति भएको छ ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । अहिले एउटा गणक टोलीबाट सुरु गरिए पनि आवश्यकताअनुसार मतगणना आठ स्थानबाट गर्ने तयारी भएको छ । भरतपुर महानगरपालिकामा २९ वडा छन् ।