समाजवादी मोर्चाले सबै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने
काठमाडौं । समाजवादी मोर्चाले सबै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ ।
सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा समिति गठन गर्ने भएको हो ।
प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३/३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने गरी मोर्चाले आ–आफ्नो पार्टीमार्फत विशेष परिपत्र पठाएको स्रोतले जनाएको छ ।
त्यस्तै, जिल्ला पार्टी प्रमुखसहित २÷२ जना रहने गरी गठन गर्ने, समन्वय समिति गठन गर्दा समावेशी बनाउन जोड दिने लगायतका विषय सर्कुलरमा समेटिएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।
प्रदेश र जिल्ला दुवै स्तरमा सबै दलबाट १÷१ जना प्रतिनिधित्व रहने गरी सचिवालय गठन गरी संचालन गर्न सकिने समेत उल्लेख छ ।
मोर्चाको सोमबार बसेको बैठकले भदौ ८ गतेदेखि २५ गतेसम्म सातै प्रदेशको मुख्यमुख्य शहरमा सभा गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ ।
जसअनुसार बैठकले कार्यविधि र अवधारणापत्र पारित गर्दै सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो ।
