प्रहरीद्वारा हत्या अभियोगमा २ जना पक्राउ गरी सार्वजनिक
झापा । झापाको मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीले सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, गत बुधबार साँझ हराएका सुन्दरको शव बिहीबार बिहान घर नजिकैको खोल्सीमा झारले छोपेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो ।
अभियुक्तद्वयले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेको झापा प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
