अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, मकवानपुर, मोरङ र कैलाली गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय २० ग्रामसहित व्यास नगरपालिका–१० बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.३प ७१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित पर्सा बहुदरमाई नगरपालिका–२ बस्ने २३ वर्षीय चन्दन कुमारलाई बिहीबार दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले ना.६ ख ९३६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उता, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ४१ मिलिग्रामसहित प्रहीले २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–१९ बस्ने २१ वर्षीय अशोक राई र सोही उपमहानगरपालिका–२० बस्ने २१ वर्षीय विश्वराज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले प्रदेश १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी, कैलालीको टीकापुर नगरपालिका–४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका–२ बन्दिपुर बस्ने २९ वर्षीय अशोक थापा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
