अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ३०, मंगलवार १८:२१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र जुम्ला गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका–८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका–८ बस्ने २५ वर्षीय ईन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका–५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २४ वर्षीय संजिव राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को.१ ह ६३९५ नम्बरको टेम्पोमा सवार ईन्द्र बहादुर र सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १–०१–०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर्रसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित होटलबाट अवैध लागूऔषध चरेश १८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय लुमन चौलागाई र २० वर्षीय राजेश हमाल रहेका छन् । उक्त होटलमा खाजा खाँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेशसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।