बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ
ललितपुर । बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले लतिलपुरबाट एक जना चाइल्ड केयर सेन्टरका संचालकलाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । पक्राउ परेका बुढामाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
