अवैध लागूऔषधसहित ११ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २८, आईतवार १०:५५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, काठमाडौं, पाँचथर, बाँके, कास्की, कैलाली र मकवानपुर गरी सात छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध गाँजा १ सय ३३ केजी ९ सय ८८ ग्रामसहित २ जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका–७ बस्ने २२ वर्षीय बिकास प्रसाद यादव र रौतहट गौर नगरपालिका–५ बस्ने २४ वर्षीय अभय कुमार गुप्ता रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको बिआर ०६ पिए ६१८४ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीको छतमा सेफ बटम बनाई लुकाई छिपाई ल्याएको १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक यादव र गाडीमा सवार गुप्तालाई पक्राउ गरेको हो ।

यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ सय ४५ एम्पुल, फेनारगन ९ सय ४० एम्पुल र नुर्फिन ९ सय ३० एम्पुलसहित रौतहट फतुवा विजयपुर नगरपालिका–१ घुसुपुर घर भएका २१ वर्षीय लखिन्द्र मुखियालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २०८८ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, पाँचथरको फिदिम नगरपालिका–२ भ्यू टावस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका–१४ बस्ने २२ वर्षीय रूपन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले मे.३ प २०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्राम बस्ने २४ वर्षीय सुदिप थापालाई शुक्रबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वी चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित सोही महानगरपालिका–१४ खाल्टेमसिना बस्ने २७ वर्षीय अर्जुन परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–२ तेघरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका महराटोल बस्ने २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्व भट्ट रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली कै गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय बसन्त खत्री र बैतडी सिगास गाउँपालिका–२ घर भएका १८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–२ अत्तरिया पहाड रोडस्थित होटलमा काम गर्ने ती किशोरलाई १ सय ६० मिलिग्राम उक्त लागूऔषधसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा बसन्तलाई उनकै घरबाट ९ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित राक्सिराङ गाउँपालिका घर बताउने २२ वर्षीया नानु घलानलाई शनिबार दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नाराणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।