हेटौंडाबाट अवैध थाल र कचौरासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट प्रहरीले शुक्रबार बिहान अवैध कासको थाल र कचौरासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५० वर्षीय वेद कार्की रहेका छन् । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, काँकडभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको ग.१ ख ९६३४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट बिल भन्दा बढी सामान लुकाएर ल्याएको कासको थाल–२५० थान र कासको कचौरा–३९४ थान बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
बरामद गरिएको सामान ३ लाख ५० हजार मुल्य बराबरको रहेको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
