५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् ।
प्रहरीले उनीहरुलाई ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, सुरुमा बिहीबार काठमाडौंको थानकोटबाट पर्यटक गाडीमा पठाइएको नक्कली ३६ लाख रुपैयाँ बरामद भएको थियो । त्यसपछि खोजतलासका क्रममा थप रकम र कारोबारलाई नियन्त्रणमा लिएको हो ।
कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै संचालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
