अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र बर्दिया गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर ६० मिलिग्रामसहित गुलरिया नगरपालिका–७ बस्ने ४३ वर्षीय बच्छिराज खटिकलाई मंगलबार राति पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ती दुवै घटनाको विषयमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
