सहकर्मीको घरमा पुगेर दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार १५:५७
सांकेतिक तस्बिर

विराटनगर । मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जाँडरक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर हो–हल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतोलाई पक्राउ गरेको हो ।

महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् ।

डाक्टर महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेका थिए । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।