मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित महिला पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार १८:३१
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाई मन्दिरस्थित सडकखण्डबाट अवैध लागूऔषधसहित एक जना महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका –१७ बस्ने अन्दाजी ५० वर्षीया कलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, सोमबार दिउँसो सवा २ बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना.२८ प. ७७२ नं.को मोटरसाइकल हेटौंडा–१५, पिपल चौतारास्थित पुव– पश्चिम सडकखण्डमा चेकिङ टोलीलाई देखेर भागेको थियो ।

प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलीलाई देखेर भागेको ती मोटरसाइकललाई पच्छयाउँदै जाँदा हेटौंडा–१५, चुरियामाई मन्दिरस्थित सडकखण्डमा पुगेर मोटरसाइकल रोकी चालक फरार भएको र मोटरसाइकलमा सवार खातुनलाई छानविन गर्दा अवैध लागूऔषध बरामद भएको थियो ।

प्रहरीले खातुनको साथबाट लागूऔषध ओनरेक्स लेखेको एक सय एमएल भएको २३० बोतल बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले फरार मोटरसाइकल चालकको खोजी कार्य गर्नुका साथै पक्राउ परेकी खातुनमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।