मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित सात जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट विभिन्न समयमा उनीहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट बिहीबार राति १४९८ एम्पुल लागूऔषध डाईजेपामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको धोविनी गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीय साकिर खान रहेका छन् ।
वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २३९८ नम्वरको यात्रुवाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसको सह–चालक खानको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, प्रहरीले बिहीबार साँझ नै हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट लागूऔषध गाँजा ६ किलो ५०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको हरियरपुर गाउँपालिका वडा नं.३ नयांबस्ती बस्ने ३० वर्षीय बुद्धबहादुर भोलन र ३० वर्षीय लालबहादुर तामाङ रहेका छन् ।
हेटौंडाबाट वीरगंजतर्फ जांदै गरेको बा ४ ख २१९१ नं. को यात्रुवाहक बसमा सवार उनीहरुको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यसैगरी, प्रहरीले हेटौंडा–१५, हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट नै बुधबार लागूऔषध गाँजा ९ किलो १५० ग्रामसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ बस्ने ३१ वर्षीय धनराज गिरी, देश भारत जिल्ला सितामडी मसल वडा नं. ६ बस्ने १९ वर्षीय दिपक यादब, जिल्ला धनुषा महेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने १९ वर्षीय रवि कुमार महरा र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षीय बुदेलाल डिम्डुङ रहेका छन् ।
नारायणघाटबाट वीरगंजतर्फ आउँदै गरेको ना ८ ख ७३४६ नं. को यात्रुबाहक बसमा सवार उनीहरुको साथबाट सो परिमाणका लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन् ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जनाएको छ ।
