अवैध लागूऔषधसहित १३ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार १७:१६

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, झापा, सर्लाही, कञ्चनपुर र कपिलवस्तु गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको विभिन्न ३ ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईनसहित चार जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय योगेश कुँवर, सोही उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय कुनाल खड्का, जोशिपुर गाउँपालिका–६ सिमरी बस्ने १९ वर्षीय अर्जुन बडायक र टिकापुर नगरपालिका–७ बस्ने २० वर्षीय राम सुरेश चौधरी रहेका छन् ।

उनीहरूमध्ये कुँवर र खड्कालाई करिब ३ सय ५० मिलिग्राम खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट, बडायकलाई करिब ३ सय मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँबाट र चौधरीलाई करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित भजनी नगरपालिका–५ कव्वाखेडा घाटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता, झापाको दमक नगरपालिका–५ नारायण गोपाल टोल डेरा गरी बस्ने गौरादह नगरपालिका–५ घर भएका २७ वर्षीय सरोज सुब्बा समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर करिब ८ ग्रामसहित आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुल छेउबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्रामसहित बिर्तामोड नगरपालिका–४ बस्ने २० वर्षीय महममताज अलीलाई आइतबार साँझ ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

यता, सर्लाहीको बागमती नगरपालिका–११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित रौतहट गरुडा नगरपालिका–८ बस्ने ४० वर्षीय रामानन्द साह समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले प्रदेश ३–०१–०२२ च ६५१५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय मिलिग्रामसहित सोही नगरपालिका–७ सिगलपट्टी बस्ने २४ वर्षीय बिकास विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरीया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरीयाबाट खटिएको संयुक्त टोलीले से.५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कपिलवस्तुको मायादेवी गाउँपालिका–४ तुल्सिडिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ८ ग्रामसहित वाणगंगा नगरपालिका–१ बैरिया बस्ने ३१ वर्षीय बिबेक थारु समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तुल्सीपुर बलुहवाबाट खटिएको प्रहरीले लु.७७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।