महिलाको हत्या गरेको आरोपमा ४ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार ०८:४७

धनगढी । कैलालीमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ भल्का बस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेका छन् ।

प्रहरीका अनुसार, मृतक मञ्चु र गोमा नातेदार हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुुलेको छ ।

मृतक मञ्जुका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिएका थिए ।

खोजीको क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो । साउन १४ गते प्रतिवादी सरिता रावलले मञ्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् ।

सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो । उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चारै जनालाई पक्राउ गरी उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।