अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र कञ्चनपुर गरी दुई छुट्टाछुट्टै जिल्लामा गरी सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको टिकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ब्लक नम्बर ११ वस्ने २४ वर्षीय आवाश भट्टराई र सोही नगरपालिका–१ ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जिवन रावल रहेका छन् ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.५ प ३७४ नम्बरको मोटेरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीय विवेक चौधरीलाई ६ सय ५० मिलिग्रामसहित तथा सोही उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदाबाट खैरो हेरोईन १ ग्राम २० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने २८ वर्षीय प्रदिप पाख्रिन र सोही उपमहानगरपालिका–१ शिवनगर बस्ने ३३ वर्षीय बिकल मगर रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०२–००३ प ६४३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
ती सवै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
